Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । एमालले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी ‘आक्रामक’ चुनावी अभियान थाल्ने भएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्नेछन् । ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा जारी गरेको विषयलाई उपलब्धिका रुपमा लिँदै एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । केन्द्रीय निर्वाचन परिचालन कमिटीले करिब ४० जिल्लाका चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम राखेको छ । पश्चिमबाट सुरु हुने ओली नेतृत्वको देशव्यापी चुनावी प्रचार अभियान पूर्वी नेपालमा पुगेर सम्पन्न हुनेछ । एमालेले सत्ता गठबन्धनविरुद्ध चुनावी अभियान तीव्र पार्ने रणनीति बनाएको छ । उसले खासगरी परमादेशबाट निर्माण भएको सरकारका गतिविधिलाई मुख्य निशाना बनाई अभियान थाल्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका कमजोर आर्थिक वृद्धि, सत्ता सञ्चालनमा देखिएको बेथितिलगायतलाई मुख्य मुद्दा बनाउने जनाएको छ । ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा, आर्थिक अवस्था र विकास निर्माणलाई उपलब्धिको रुपमा लिँदै एमालेले गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ । एमालेले तय गरेको कार्यक्रमअनुसार पहिलो दिन दार्चुलाका अतिरिक्त बैतडी र कञ्चनपुरका चुनावी कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् । एमालेले चुनावी अभियानका सबै कार्यक्रम अध्यक्ष ओलीलाई केन्द्रमा राखेर सञ्चालन गर्नेगरी नारा तय गरेको छ । एमालेले प्रधानमन्त्री उम्मेदवार घोषणा गरेका अध्यक्ष ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनावका विषयवस्तुमाथि ‘लाइभ डिबेट’ गर्न चुनौती दिएका थिए, जसको सामाजिक सञ्जालसहित सञ्चारमाध्यमहरुमा चर्चा भएको थियो । यसबीचमा ओलीले मतदातासँग नम्बर मागेर उनीहरुका प्रश्नको उत्तर दिनेदेखि आफूसँग खिचेका सेल्फी सामाजिक सञ्जालमा राख्नेसम्मका काम गरेका थिए । निर्वाचन आयोगले कात्तिक १७ बाट मात्रै बाह्य प्रचार गर्न पाउने समय निर्धारण गरेको छ । पाँच दलबीच चुनावी गठबन्धन भए पनि एमालेले एक्लै बहुमत ल्याउने दाबी गर्दै आएको छ । एमाले अध्यक्ष ओलीदेखि अन्य नेताहरु एकै स्वरमा प्रत्यक्षतर्फ १ सय र समानुपातिकतर्फ ५० स्थान जित्ने दाबी गर्दै आएका छन् । जसका लागि एमालेले स्थानीय चुनावमा भन्दा ६ प्रतिशत बढी मत ल्याउने गरी तयारी भएको बताउने गरेको छ । राप्रपा, जसपा र अन्य साना दलसँग तालमेल गरेको एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ४१ क्षेत्रमा उम्मेदवार उठाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका छन् भने जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले सघाउने भएको छ । चुनाव परिचालनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कमिटी गठन भएको छ भने त्यसको ३४ सदस्यीय सचिवालय निर्माण गरेको छ । पार्टीका उपमहासचिव विष्णु रिमाल दुवै कमिटीको सचिव छन् । उनकै नेतृत्वमा चुनाव परिचालन भइरहेको छ ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल