Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी निर्णायक शक्ति गुमाउदै

७ मंसिर, काठमाडौं । सत्ता राजनीतिमा कहिले मूल शक्ति त कहिले निर्णायक शक्तिका रूपमा रहँदै आएको माओवादी केन्द्र यो निर्वाचनबाट उक्त हैसियत गुमाउने सम्भावना देखिएको छ ।
शान्तिपूर्ण राजनीतिमा आएदेखि निरन्तर संसदीय अंकगणितका कारण सत्ताको केन्द्रमा रहन सफल माओवादी यसपटक तेस्रो, तर निर्णायक शक्ति बन्न चाहन्थ्यो । तर घण्टी चिह्न लिएर प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आक्रामक नतिजा निकाल्दा माओवादी केन्द्रले निर्णायक हैसियत गुमाउने सम्भावना देखिएको छ ।
अहिलेसम्मको रूझानअनुसार माओवादी केन्द्र प्रत्यक्षतर्फ तेस्रो र समानुपातिकतर्फ चौथो स्थानमा छ । यो रिपोर्ट तयार पार्दासम्म प्रत्यक्ष तर्फको मत परिणामअनुसार आगामी संसदमा नेपाली कांग्रेस पहिलो दल हुने देखिन्छ । त्यसपछि एमाले छ भने माओवादी केन्द्र तेस्रो र रास्वपा चौथो स्थानमा छ ।
बुधबार साँझसम्म प्राप्त नतिजाका आधारमा प्रत्यक्षमा कांग्रेसले १७ सिटमा जित हासिल गरेर ४० सिटमा अग्रता लिइरहेको छ । एमाले ६ सिटमा जित निकाल्दै ३८ सिटमा अग्रता लिइरहेको छ भने माओवादीले ३ सिटमा जित निकाल्दै १३ वटा सिटमा अग्रता लिइरहेको छ ।
तर घण्टी चुनाव चिह्न भएको रास्वपाले माओवादी केन्द्रको भन्दा एक सिट बढी ४ सिट हात पारेको छ भने ५ वटा सिटमा अग्रता बनाएको छ ।
त्यस्तै समानुपातिक तर्फको प्रारम्भिक मत परिणामअनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रेस ३० हजार मतले पछाडि छ । बुधबार साँझसम्म एमालेको ३ लाख ८ हजार ३७५ मत पाउँदा कांग्रेसले २ लाख ८७ हजार ५२१ मत पाएको छ ।
रास्वपाले १ लाख ५४ हजार ९६६ मत पाउँदा माओवादी केन्द्रले १ लाख ४१ हजार ३८१ मत पाएको छ । समानुपातिकतर्फ रास्वपाले ल्याएको मत परिणामले माओवादीको निर्णायक शक्ति बन्ने सम्भावनालाई झनै कमजोर बनाउने देखिन्छ ।
समानुपातिकतर्फ धेरै मत गन्न बाँकी छ । माओवादीको समानुपातिक मत आउने पहाडी क्षेत्रको मत गणना कतिपय स्थानमा सुरू नै भएको छैन । उसो त ४ मंसिरमा निर्वाचन हुन नसकेका कतिपय स्थानमा रोकिएको मतदान पनि हुनै बाँकी छ । त्यसले पनि सत्ता गठबन्धन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सिट बढ्न सक्छ ।
बाग्लुङबाट चुनाव जितेका नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल ।
माओवादी अंकगणितका हिसाबले तेस्रो शक्ति बनेपनि सत्ता राजनीतिका लागि निर्णायक नरहने सम्भावना बढेको छ ।
अहिलेसम्म सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीको मत निराशाजनक छ । प्रत्यक्षतर्फ २ सिटमा जित निकालेर ७ सिटमा अग्रता बनाइरहेको छ । जुन एकीकृत समाजवादीका लागि अपेक्षाकृत नतिजा होइन । समानुपातिकतर्फ थप १७ हजार ६४२ मतसहित अघि बढिरहँदा उसलाई थ्रेस होल्ड कटाउनै सकस हुने देखिन्छ ।
यसले गठबन्धनका दलहरूको मात्रै अंकगणितले सरकार बन्ने देखिन्न । त्यसो हुँदा माओवादीले निर्णायक हैसियत गुमाउन सक्छ ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साह पार्टीले निर्णायक हैसियत गुमाएको स्वीकार गर्छन् । अहिलेको नतिजाले के देखाउँछ भने हामी अब निर्णायक रहेनौं उनी भन्छन्, पार्टीको निर्णय भन्दा पनि व्यक्तिको निर्णयबाट उम्मेदवार छनोट गर्दा यस्तो नतिजा आएको हो ।

 


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल