Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेरक सन्तको चरित्र र चिन्तन

– प्रा.डा. माधव भट्टराई

खप्तडबाबा त्यस्तो सिद्ध सन्त हुनुहुन्छ जसको समग्र जीवन रहस्यका अनेक गाथाहरूले भरिएको छ । काश्मीरको ब्राह्मण कुलमा जन्मेर आधुनिक एलोपेथिक (औषधविज्ञान) । अध्ययन गरी एक दशकको कार्याभ्यास गरेपछि उहाँमा वैराग्यको प्रादुर्भाव भयो । डा. शिवनाथ डोगरा, लोकप्रचलित नामका साथै मनग्गे आमदानी भइरहेका बखत प्राप्त वैराग्य जीवन र जगत् प्रतिको कौतूहलले गरिरहेको पेशा त्याग गरी सन्तहरूका आश्रम अनि दार्शनिक विद्वानहरूको खोजीमा विभिन्न ठाउँ पुग्नु भयो । स्वामी सच्चिदानन्द सरस्वती उहाँको दीक्षा नाम निर्धारित भयो । ब्रह्राण्डको रहस्य खोज्दै उहाँ नेपाल पस्नुभयो र पश्चिम नेपालको खप्तड लेकमा रहेर जीवनको अन्तताकाका ५ दशक त्यहाँ बिताउनुभयो । फलतः उहाँको लोकप्रसिद्ध नाम खप्तड बाबा रहन गयो । उहाँका तिनै जीवन गाथाका विविध पक्षमाथि प्रकाश पार्दै चर्चित लेखक एवं चिन्तक अर्जुन ज्ञवालीले तयार गरेको ‘ खप्तडबाबा’ पुस्तक एक वर्ष अधि प्रकाशमा आएकोमा पुनः दोस्रो संस्करण प्रकाशित हुन लागेकोमा हर्षको अनुभव गर्दै लेखक श्री अर्जुन ज्ञवाली र प्रकाशक समेत सम्बद्ध सबैमा हार्दिक साधुवाद ज्ञापन गर्दछु ।
सन्तहरूको जीवन नै सन्देश हो । यस पुस्तकमा अर्जुनजीले खप्तडबाबाको जीवनको साधारण चित्रण मात्र नगरी उहाँको वैराग्य प्राप्तिको कारण, जीवन र जगतको रहस्य– मयता, तीर्थमय नेपालको वैशिष्ट्य, बाबाको नेपालप्रतिको लगाव, उहाँको योगदान, समसामयिक सामाजिक–राजनैतिक विश्लेषण, बाबाको साधनाको प्रवृत्ति र उपलब्धि, उहाँको जीवनोपयोगी शिक्षा एवं जनसमाजले उहाँबाट प्राप्त गरेका सन्देशहरूको सटीक निरूपण गर्नुभएको छ। यसबाट पाठकलाई कौतूहलपूर्ण ढङ्गले सरस र सरल प्रक्रियाबाट आध्यात्मिक जगतमा प्रवेश गर्ने अवसर प्राप्त भएको छ।
खप्तडबाबा आफैमा एक पहेली हो । कश्मीरको जन्म, बेलायतको पढाइ, सामाजिक मर्यादाको पर्याप्त उपलब्धि हुदाहुँदै प्रारब्धवश् उहाँ कसरी अर्को दुनियाँमा पुग्नुभयो र साधनामय दीर्घ जीवन प्राप्त गरी भौतिक सुख त्याग गर्दै ईश्वरीय आनन्दको अनुभूतिमा रमाउनु भयो ? मननीय छ ।
उहाँ असाधारण व्यक्तित्वका धनी हुनुहुन्थ्यो ! वर्तमान पिँढीको ऋषिका रूपमा उहाँलाई लिन सकिन्छ । केवल आफ्नो साधनामा मात्र नरमाई समाजलाई कृति रचना द्वारा पनि उहाँले लाभान्वित गराउनुभएको छ । विचारविज्ञान, स्वास्थविज्ञान र धर्मविज्ञान जस्ता उहाँका कृति अत्यन्तै जीवनोपयोगी छन् । पङिक्तकारले ‘विचारविज्ञान’ को संस्कृत अनुवाद गर्ने सन्दर्भमा २० पृष्ठ गरेपछि पूरा गर्न नसकेकोमा पछि धर्मविज्ञानको कतिपय भाग अनुवाद हिन्दीबाट नेपालीमा अनुवाद गर्ने अवसर पाउँदा हर्षको अनुभव गरेको तथ्य पनि यहाँनेर जाहेर गर्दछु । वास्तवमा यी दुवै पुस्तक अनेक दृष्टिबाट जीवनोपयोगी मानिन्छन् विज्ञानको अध्ययन र अध्यात्मको अनुभवले खारिएका यी किताब पठनिय र मापनीय छन् ।
अर्जुनजीले धेरै पुस्तकहरू लेखिसक्नु भएको छ । जीवनका बहुपक्षीय आरोह अवरोह पार गर्दै हाल उहाँ नेपाली राष्ट्रियता, सनातन अग्रगामी मौलिक चिन्तन, पौरस्त्य जगत्का उच्च मानबिन्दु, प्रेरक विभूतिहरू र जीवनलाई उत्कर्षमा लैजाने विविध पहलहरूमाथि कलम चलाइरहनुभएको छ । त्यसै सन्दर्भको एक कडी हो “खप्तडबाबा” पुस्तक । यसले जीवनमा चाँहिदो भौतिक साधन–स्रोत भएर पनि आत्मिक शान्तिका लागि भौतारिरहेका अथवा मनुष्य–जीवनको गहिराइ खोजिरहेका मानिसहरूका लागि गहकिलो खुराक प्रदान गर्नेछ । हाल नेपाल लक्ष्यहीन गतिबाट गुज्रिरहेको छ । राजनीति भ्रष्ट छ । अर्थतन्त्र डाँवाडोल छ । शिक्षाप्रणाली दिशाहीन र नैतिकता शून्य छ । मानिस छट्पटाइरहेका छन् । सांस्कृतिक धरोहर दिनानुदिन ध्वस्त बनाइँदो छ । भ्रष्टाचार मौलाउँदो छ । मौलिक धर्ममाथि लगातार प्रहार गरिँदो छ । विधर्मी र विदेशी चिन्तन हावी भएको छ । जताततै अभाव र अशान्ति चुलिँदो छ । आम नागरिकमाथि राज्यका हरेक निकायको अत्याचार बढ्दो छ । नवसामन्तहरूको शोषण निरन्तर बढ्ने क्रममा छ । यस्तो अवस्थामा पौरस्त्य जगत्का मनीषीहरूको चिन्तनको अनुशीलनबाट जिज्ञासुहरुलाई शान्तिको शीतल छहारी मिल्न सक्तछ । चिन्त, स्थिर हुन सक्तछ । त्यसैले पूर्व, पश्चिम सबैतिरको अनुभव गरी देवभूमि नेपालमा साधना सिद्धि गरेको वर्तमान युगका ऋषिकल्प स्वामीजीको शिक्षा अनुसरणीय हुन्छ भन्ने ठानी विश्लेशक तथा लेखक अर्जुन ज्ञवालीले लेख्नु भएको यस पुस्तकको म सराहना गर्दछु र यसलाई मनोयोगपूर्वक पढ्न सबैलाई आग्रह गर्दछु ।
संसारप्रतिको वैराग्य र अनन्तप्रतिको ञान अमूल्य उपलब्धि हुन् मानवका लागि । देहप्राप्ति पूर्वको प्रारब्धबाट वैराग्य हासिल हुन्छ भने देहान्तपछिको ऊध्र्व गतिका निम्ति ज्ञान आवश्यक हुन्छ । खप्तडस्वामीमा यी दुवै विशिष्ट सम्पत्ति उपार्जित थिए । अतः उहाँको चरित्र र चिन्तन अनुकरणीय र मननीय छ । आजको अशान्त पाठकले उहाँबाट धेरै सिक्न सक्तछ । धर्मविज्ञान अनुवाद गर्दाको अनुभवले पनि मलाई यसो भन्न प्रेरित गरेको छ । यस पुस्तकमा अनुभवसाक्ष्य विचार परेका छन् । अर्जुनजीले खप्तडबाबा पुस्तकको रचना गर्दा पूर्ववर्ती धेरै लेखकहरु, स्वामीजीको सम्पर्कमा आएका व्यक्तिहरू र सिद्ध तपस्वीहरूका जीवनदर्शनलाई समेत केलाउनुभएको छ । पुस्तक पढेर नै यथार्थ बुझ््न सकिन्छ ।
अन्तमा, पुस्तक उपयोगी छ । पढेर लाभ लिनुहोला । लेखक, प्रकाशक र सहयोगी सबैलाई हार्दिक धन्यवाद दिँदै प्रकाशनको सफलताको कामना गर्दछु ।
देवभूमिस्तपोभूमिर्नेपालो विश्वविश्रुतः ।
इदा दुर्जनाक्रान्तः कदा मुक्तो भविष्यति ?
अध्यक्ष, राष्ट्रिय धर्मसभा नेपाल, अनामनगर, काठमाडौं