Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैवर्षमा १७ सय ९५ नेपाली विभिन्न वहानामा रुस पुगे

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली विभिन्न वहानामा रुस गएको पाइएको छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो । त्यस्तै अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली रुस गएको पाइएको हो । पछिल्लो समय विभिन्न वहानामा रुस पुगी त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढ्दो छ । केही महिनायता रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् । यस्तै, चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन विवरण नेपाल सरकारले प्राप्त गर्न नसकिरहेका बेला विभागले ठूलो संख्यामा नेपाली रुस पुगेको विवरण सार्वजनिक गरेको हो । रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि नेपालले रुससँग भर्ती भएका नेपालीको विवरण माग्दै आएको छ । यतिमात्र होइन नेपालले थप नेपालीलाई भर्ती नलिन र भर्ती भएकालाई फिर्ता बोलाउन समेत रुससँग आग्रह गरेको छ । रुसले पनि नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ । उल्टै गतसाता रुसी राष्ट्रपतिले नेपालीलगायत विदेशीलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका छन् । नयाँ आदेशमा रुसी सेनामा एक वर्षको लागि भर्ती हुन सम्झौता गर्ने विदेशी नागरिक र उसको परिवारलाई रुसी नागरिकता दिने व्यवस्था छ ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार वर्ष २०२३ मा मात्र ९५ जना नेपाली युक्रेन गएका छन् ।