Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचित अधिकांश उपाध्यक्षहरू अहिले उनकै नेतृत्वमाथि प्रश्न उठाउने अवस्थामा पुगेका छन्। महाधिवेशन भएको पाँच महिनामै ओली पक्षबाट निर्वाचित नेताहरूले नेतृत्व परिवर्तनको आवश्यकता औपचारिक रूपमा उठाएपछि एमालेभित्र नयाँ राजनीतिक समीकरणको संकेत देखिएको छ।
गत मंसिरमा सम्पन्न महाधिवेशनबाट रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए। उनीहरूमध्ये विशेषगरी विष्णु पौडेललाई संकटका बेला सधैं ओलीको साथमा उभिने नेताका रूपमा हेरिन्थ्यो भने पृथ्वीसुब्बा गुरुङले पनि आलोचनात्मक धारणा राखे तापनि नेतृत्वको पक्षमा साथ दिँदै आएका थिए।
तर शुक्रबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष पौडेल, गुरुङ र पन्तले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। उनीहरूले पार्टी वर्तमान नेतृत्वमा अगाडि बढ्न नसक्ने निष्कर्षसहित पुनर्गठनको आवश्यकता औंल्याएका थिए। उनीहरूको धारणा समर्थन गर्दै उपाध्यक्ष गोकर्ण विष्टले समेत ओलीले पद त्याग गर्नुपर्ने मत राखेका थिए।
महाधिवेशनमा दुईतिहाइभन्दा बढी सचिवालय र केन्द्रीय सदस्य आफ्नो पक्षमा जिताउन सफल भएका ओली अहिले आफ्नै टिमभित्रबाट चुनौती सामना गरिरहेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै २५ सिटमा सीमित भएपछि नेतृत्वमाथि प्रश्न उठ्न थालेको थियो।
निर्वाचन परिणामपछि ओलीले नैतिक जिम्मेवारी लिएर पद छाड्नुपर्ने आवाज पार्टीभित्र सुनिएको थियो। तर ओली पदत्यागका लागि तयार नभएपछि असन्तुष्ट नेताहरूले नेतृत्व परिवर्तनका विषयमा छलफल तीव्र बनाएका थिए।
यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि एमालेको आन्तरिक राजनीतिमा महत्वपूर्ण बन्न थालेको छ। महाधिवेशनमा ओलीविरुद्धको समूहसँग निकट मानिएकी भण्डारीसँग ओलीले वैशाख अन्तिम साता लामो छलफल गरेका थिए। त्यसलगत्तै लामो समयदेखि रोकिएको उनको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय सचिवालयबाट गराइएको थियो।
ओलीले भण्डारीलाई पार्टीभित्र सक्रिय भूमिका दिने तयारी गरिरहेको चर्चा चलिरहँदा भण्डारीले भने विभिन्न नेताहरूसँगको भेटमा एमालेलाई पुनर्गठन गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै आएकी बताइन्छ।
शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच नेतृत्वको विषयलाई लिएर चर्काचर्कीसमेत भएको स्रोतहरूको दाबी छ। बैठकमा गुरुङले पार्टी र कम्युनिस्ट आन्दोलनको हितका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखेपछि विवाद भएको बताइन्छ।
पार्टीभित्रको यो बहस अब औपचारिक रूपमा सचिवालय तहमा प्रवेश गरिसकेको छ। चार उपाध्यक्ष नेतृत्व परिवर्तनको पक्षमा उभिनु र अन्य पदाधिकारीहरूले समेत समान धारणा राख्न सक्ने संकेत देखिनुले एमालेभित्रको शक्ति सन्तुलन बदलिँदै गएको विश्लेषण हुन थालेको छ।
पार्टीका नेताहरूका अनुसार, विगतमा ओलीका बलिया समर्थक मानिएका नेताहरू क्रमशः टाढिँदै जाँदा अध्यक्ष ओलीमाथिको राजनीतिक दबाब झन् बढ्दै गएको छ। एमालेभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको बहस अब आगामी दिनमा थप निर्णायक बन्ने संकेत देखिएको छ।
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल