Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डडेल्धुरामै देउवालाई धक्का, गगनको पक्षमा उभिए नैनसिंह महरसहित बहुमत नेता

काठमाडौं । नेपाली कांग्रेसमा दुईवटा महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुरामा कमजोर देखिएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला, प्रदेश, पालिका र वडा तहका समितिमै देउवा पक्ष अल्पमतमा परेको दाबी गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य तथा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नैनसिंह महर सभापति गगन थापाको पक्षमा खुलेपछि देउवालाई गृहजिल्लामै चुनौती थपिएको हो।

डडेल्धुरा जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्य महरसँगै थापा पक्षमा उभिएको बताइएको छ। जिल्ला सभापति भीमबहादुर साउद, उपसभापति भरत नेपाली, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव गोविन्दराज बोहरा र प्रेमबहादुर महरसहितका नेताहरू थापा पक्षमा देखिएका छन्।

पूर्वजिल्ला सभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरा तथा नेताहरू हरि भट्ट र करुणाकर भट्ट पनि थापा पक्षमा रहेको बताइएको छ।

जिल्ला कार्यसमितिमा बहुमत थापा पक्षमा

महरसँगको पारिवारिक सम्बन्धका कारण जिल्ला सभापति साउद थापा पक्षमा नजिकिएको र त्यसपछि जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यले देउवाको साथ छाडेको कांग्रेसका स्थानीय नेताहरूको दाबी छ।

महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमध्ये पनि बहुमत थापा पक्षमा उभिएको बताइएको छ।

डडेल्धुराका सात पालिकामध्ये अमरगढी र पर्शुराम नगरपालिका तथा भागेश्वर र अजयमेरु गाउँपालिकाका सभापति थापा पक्षमा छन्। गन्यापधुरा, आलिताल र नवदुर्गा गाउँपालिकाका सभापति भने देउवा समूहमा रहेको बताइएको छ।

पालिका सभापति आफ्नो पक्षमा नरहेका स्थानमा उपसभापतिमार्फत अधिवेशन प्रक्रिया अघि बढाउने रणनीति थापा पक्षले लिएको छ।

यता जिल्ला उपसभापतिहरू डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सचिव शेरबहादुर भण्डारी, पूर्वराज्यमन्त्री सरस्वती खड्का र नेता जगत ऐरलगायत देउवा समूहमा छन्।

५२ मध्ये ३० वडामा अधिवेशन

तत्कालीन अवस्थामा कर्ण मल्लसँगै कांग्रेसमा समाहित भएका अधिकांश नेता आइतबारको अधिवेशन प्रक्रियामा सहभागी भएको बताइएको छ।

युवा नेता जनक चटौतका अनुसार शनिबार र आइतबार गरी डडेल्धुराका ५२ मध्ये ३० वटा वडामा अधिवेशन सम्पन्न भएको छ। बाँकी २२ वडामा सोमबार अधिवेशन गर्ने तयारी छ।

देउवा पक्षले भने शनिबार कार्यक्रम आयोजना गरी असोज १५ गते हुने अधिवेशनमा मात्र सहभागी हुन आग्रह गरेको थियो। बीपी कांग्रेसबाट कांग्रेसमा समाहित भएका पूर्वजिल्ला सभापति कर्ण मल्लले पनि अधिवेशन बहिष्कारको घोषणा गरेका थिए।

तर, थापा पक्षका नेता चटौतले डडेल्धुरा कांग्रेसका सबै तहमा आफ्नो समूह बहुमतमा रहेको दाबी गरेका छन्।

‘जिल्ला सभापति भीमबहादुर साउद आएपछि डडेल्धुरा कांग्रेस ७० प्रतिशत हाम्रो पक्षमा उभिएको छ,’ चटौतले भने, ‘जिल्लाका बहुमत पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र पालिका सभापति हाम्रो पक्षमा उभिनुभएको छ।’

चटौत गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा डडेल्धुराबाट एक्लै महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए। उनलाई सभापति गगन थापानिकट नेताका रूपमा लिइन्छ।

महरको पक्ष परिवर्तनले देउवालाई धक्का

डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्तालाई थापा पक्षमा उभ्याउन चटौतले रणनीतिक रूपमा भूमिका खेलेको बताइएको छ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापाले देउवानिकट महरलाई डडेल्धुराबाट उम्मेदवार बनाएका थिए। चुनावमा देउवा पक्षको अपेक्षित सहयोग नपाएको भन्दै महर असन्तुष्ट रहेको बताइन्छ। उक्त निर्वाचनमा महर राष्ट्रिय स्वतन्त्र पार्टीकी तारा जोशीसँग पराजित भएका थिए।

असोज १ गतेदेखि महर औपचारिक रूपमा देउवाको साथ छाडेर थापा पक्षमा खुलेका हुन्।

देउवा कांग्रेस सभापति भएपछि महरलाई केन्द्रीय राजनीतिमा स्थापित गराउन भूमिका खेलेका थिए। २०७३ भदौमा देउवा समूहबाट महर नेपाल विद्यार्थी संघको सभापतिमा निर्वाचित भएका थिए।

नेविसंघको सभापति बनेपछि महरले कांग्रेसभित्र आफ्नो सांगठनिक प्रभाव विस्तार गरेका थिए। उनको पक्ष परिवर्तनले देउवालाई डडेल्धुरा मात्र नभई सुदूरपश्चिम प्रदेशमा समेत असर पार्न सक्ने कांग्रेसभित्रका नेताहरूको बुझाइ छ।

सुदूरपश्चिममा देउवा पक्षको पकड कायमै

डडेल्धुरामा देउवा पक्ष कमजोर देखिए पनि सुदूरपश्चिम प्रदेश कार्यसमितिमा भने देउवा समूहको बहुमत रहेको बताइएको छ।

केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलगायत नेता देउवा पक्षमा उभिएका छन्। प्रदेश सभापति बलायर, उपसभापति लोकराज अवस्थी, महामन्त्री मेघराज खड्का, सहमहामन्त्री चिन्तामणि भट्ट र गोपालदत्त भट्ट तथा कोषाध्यक्ष उत्तम कडायतसहित बहुमत सदस्य देउवा समूहमा रहेको दाबी गरिएको छ।

यद्यपि, उपसभापति जनक चौधरी, महामन्त्री मनु शाह तथा सहमहामन्त्री अम्बिका चलाउनेले देउवाको साथ छाडेका छन्।

सुदूरपश्चिमका नौ जिल्ला सभापतिमध्ये हाल तीन जना मात्र देउवा पक्षमा रहेको बताइएको छ। कैलालीका सभापति नारायणदत्त भट्ट, कञ्चनपुरका पदम बोहरा र डोटीका नरेन्द्रबहादुर सिंह देउवा समूहमा छन्।

डडेल्धुराका भीमबहादुर साउद, अछामका पुष्पबहादुर शाह, बाजुराका रामसिंह रावल, दार्चुलाका ललितसिंह बोहरा र बैतडीका चतुरबहादुर चन्द थापा पक्षमा खुलेका छन्। शुक्रबार बझाङका सभापति खड्कबहादुर बोहरा पनि अन्तिम समयमा थापा पक्षमा खुलेको बताइएको छ।

बझाङका सभापति बोहरालाई थापा पक्षमा ल्याउन केन्द्रीय सदस्य महरले भूमिका खेलेको कांग्रेसका नेताहरूको भनाइ छ।

१४औँ महाधिवेशनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये दार्चुला, बाजुरा र बैतडीका सभापति देउवा इतर समूहबाट निर्वाचित भएका थिए। डडेल्धुरा, अछाम र बझाङका सभापति भने देउवा पक्षबाट निर्वाचित भएर पछि समूह परिवर्तन गरेका हुन्।

यसरी डडेल्धुरामा महरको पक्ष परिवर्तन र जिल्ला सभापतिसहित बहुमत नेताको थापा पक्षमा उभिने क्रमले देउवाको गृहजिल्लामा कांग्रेसको शक्ति समीकरण बदलिएको देखिएको छ। सुदूरपश्चिम प्रदेशमा भने जिल्ला तहको ध्रुवीकरणसँगै प्रदेश नेतृत्व र केन्द्रीय नेताहरूको समूहगत অবস্থान पनि चर्चामा आएको छ।