Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएका छन्। विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म पनि संवाद जारी रहने उनले बताए।

नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।

दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव सरकारको निरन्तरताका लागि आवश्यक बहुमत जुटाउने प्रयासमा छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार कायम राख्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।

त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन्।

विश्वासको मतका लागि आवश्यक संख्या जुटाउन मुख्यमन्त्री यादवले विभिन्न दलका प्रदेशसभा सदस्यसँग संवाद गरिरहेका छन्। मतदानअघि हुने राजनीतिक छलफलले सरकारको आगामी निरन्तरता निर्धारण गर्नेछ।