Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्नै चाहेनन् कोही

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुकलाई ‘क्यान्डिडेट क्लब’ मा नाम दर्ता गर्न आह्वान गरे पनि कोशी प्रदेशका करिब ३० प्रतिशत पालिकामा वडाध्यक्ष पदका लागि एउटै आवेदन परेको छैन।

मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार बन्न इच्छुकहरूको आकर्षण देखिए पनि वडाध्यक्ष पदमा भने आकांक्षीको अभाव देखिएको हो। यसले पार्टीको तल्लो तहको नेतृत्वमा उम्मेदवार आकर्षित गर्न चुनौती रहेको संकेत गरेको छ।

रास्वपा सभापति रवि लामिछानेले समेत केही दिनअघि चितवनमा वडाध्यक्ष पदमा चुनाव लड्न चाहने व्यक्तिको अभाव देखिएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। उनले ‘राजीनामा दिएर वडाध्यक्षमा लड्न आउनुपर्ला जस्तो छ’ भनेका थिए।

नेपाल प्रेसलाई प्राप्त रास्वपाको आधिकारिक विवरणअनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ४१ पालिकामा हालसम्म कुनै पनि वडाबाट वडाध्यक्ष पदका लागि क्यान्डिडेट क्लबमा नाम दर्ता भएको छैन। पार्टीले क्यान्डिडेट क्लबमा दर्ता भएका व्यक्तिमध्येबाटै आगामी निर्वाचनका उम्मेदवार छनोट गर्ने घोषणा गरेको छ।

जिल्लागत विवरणअनुसार ताप्लेजुङका सातवटै स्थानीय तहमा वडाध्यक्षका लागि आवेदन परेको छैन। फुङलिङ नगरपालिका तथा आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकामा कसैले पनि उम्मेदवारीको आकांक्षा देखाएका छैनन्।

खोटाङमा हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, बराहपोखरी, दिप्रुङ चुइचुम्मा, जन्तेढुङ्गा, केपिलासगढी र साकेला गाउँपालिकामा पनि वडाध्यक्ष बन्न चाहनेले नाम दर्ता गराएका छैनन्।

इलामका देउमाई र इलाम नगरपालिका तथा फाकफोकथुम, माङसेबुङ, रोङ र सन्दकपुर गाउँपालिकामा समेत वडाध्यक्षका आकांक्षी देखिएका छैनन्।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका तथा हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, तुम्बेवा र याङवरक गाउँपालिका र सङ्खुवासभाका चैनपुर, मादी र पाँचखपन नगरपालिका तथा चिचिला, सभापोखरी र सिलिचोङ गाउँपालिकामा पनि आवेदन परेको छैन।

भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका, धनकुटाका चौबिसे, छथर जोरपाटी र साँगुरीगढी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ, तेह्रथुमको मेन्छ्यायेम र उदयपुरको सुनकोशी गाउँपालिकामा पनि वडाध्यक्षका आकांक्षीले नाम दर्ता नगराएको विवरणमा उल्लेख छ।

९६ पालिकामा १ हजार ८२ आवेदन

कोशी प्रदेशका बाँकी ९६ पालिकामा भने वडाध्यक्षको उम्मेदवार बन्ने आकांक्षा राख्दै १ हजार ८२ जनाले क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका छन्। यसले प्रदेशका तराई क्षेत्रका जिल्लामा रास्वपाको उम्मेदवार बन्ने आकर्षण तुलनात्मक रूपमा बढी रहेको देखाउँछ।

एकल पालिकाको हिसाबले सबैभन्दा बढी आवेदन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा परेको छ। त्यहाँ वडाध्यक्ष बन्न ४७ जनाले नाम दर्ता गराएका छन्।

जिल्लागत रूपमा मोरङ सबैभन्दा अगाडि देखिएको छ। मोरङका १७ पालिकाबाट वडाध्यक्षको उम्मेदवार बन्न ३२५ जनाले आवेदन दिएका छन्। धनपालथान गाउँपालिकामा ३८ र कटहरी गाउँपालिकामा ३२ जनाले नाम दर्ता गराएका छन्।

त्यस्तै, सुनसरीका १२ पालिकाबाट २६९, झापाका १५ पालिकाबाट २३६ र उदयपुरका सात पालिकाबाट १२९ जनाले आवेदन दिएका छन्। उदयपुरको त्रियुगा नगरपालिकामा मात्रै ३९ जना वडाध्यक्षका आकांक्षी देखिएका छन्।

समग्रमा कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका ४१ पालिकामा वडाध्यक्ष पदका लागि आवेदन नपर्नु र तराईका जिल्लामा ठूलो संख्यामा आकांक्षी देखिनुले रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा भौगोलिक असन्तुलन देखिएको छ।