Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न सरकार, राजनीतिक दल र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ को अवसरमा शुक्रबार सन्देश जारी गर्दै प्रचण्डले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राष्ट्रिय आवश्यकता भएको बताएका हुन्।
२०६३ मंसिर ५ गते तत्कालीन सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही नेकपा (माओवादी)का तर्फबाट आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट निर्माण भएको राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गरेका छन्।
प्रचण्डका अनुसार विस्तृत शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन्।
‘विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए। तर, सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्,’ उनले सन्देशमा भनेका छन्।
उनले विशेषगरी द्वन्द्वपीडितलाई न्याय दिने, सत्य निरूपण तथा मेलमिलापको प्रक्रिया टुंग्याउने, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै पूरा हुन नसकेको बताएका छन्।
शान्ति सम्झौताको मर्म द्वन्द्व अन्त्यमा मात्र सीमित नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको उनको भनाइ छ।
संयोजक प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। साथै, शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गरेका छन्।
शान्ति सम्झौता कुनै एक पक्षको मात्र नभई राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको पनि उनले उल्लेख गरेका छन्।
२०८३ मंसिर ६
ताजा नेपाल
२०८३ मंसिर ६
ताजा नेपाल
२०८३ मंसिर ६
ताजा नेपाल