Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली पुनः उपाधिका लागि आमनेसामने हुन लागेका हुन्। अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने योजनामा मैदान उत्रनेछ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेर फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो। लिग चरणको भेटमा समेत लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटको जित निकालेको थियो।

यद्यपि, पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको उपाधि यात्रा रोकिएन। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै उसले फाइनलमा स्थान सुरक्षित गरेको हो।

१० अंकसहित लिग चरणमा दोस्रो स्थानमा रहेको सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा पुगेको टोली हो। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो।

त्यसैले यसपटक सुदूरपश्चिम लगातार तीनपटक फाइनलमा पुगेर पनि उपाधिविहीन बन्ने इतिहास बदल्ने लक्ष्यमा हुनेछ। अर्कोतर्फ, लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्दै एनपीएलमा आफ्नो वर्चस्व कायम राख्न चाहन्छ।

लुम्बिनीको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन्। दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका खेलाडीको उपस्थिति छ।

यसअघि दुईपटकको भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरिसकेको छ। तर, फाइनलको दबाब र उपाधिको प्रतिस्पर्धामा दुवै टोलीको प्रदर्शन कस्तो रहनेछ भन्ने चासो क्रिकेटप्रेमीमा छ। आजको खेलले लुम्बिनीको उपाधि रक्षा सफल बनाउनेछ वा सुदूरपश्चिमले तेस्रो प्रयासमा च्याम्पियन बन्नेछ भन्ने टुंगो लगाउनेछ।