Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह सरकारले गठन भएको पहिलो १०० दिनसम्म कुनै पनि विदेश भ्रमण नगर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयका अनुसार उनले सरकारको प्रारम्भिक तीन महिनालाई देशभित्रै परिणाममुखी काममा केन्द्रित गर्ने योजना बनाएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री शाह असारअघि भारत वा चीन भ्रमणमा जाने सम्भावना अत्यन्त न्यून छ। पछिल्लो समय भारतले उनलाई भ्रमणका लागि विशेष चासो देखाए पनि तत्काल भ्रमण हुने संकेत देखिएको छैन।
प्रधानमन्त्री शाह चैत १३ गते राम नवमीको अवसरमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।
त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच मोरिससमा आयोजित इन्डियन ओसन सम्मेलनका क्रममा उच्चस्तरीय भ्रमणबारे छलफल भएको थियो। सो अवसरमा मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तोसमेत दिएका थिए।
प्रधानमन्त्री शाहले उक्त निम्तोलाई सकारात्मक रूपमा स्वीकार गरे पनि आवश्यक कूटनीतिक तयारीपछि मात्र भ्रमणको मिति तय गरिने बताएका थिए। परराष्ट्रमन्त्री खनालले पनि आवश्यक तयारी र एजेन्डामाथि छलफलपछि मात्रै औपचारिक निर्णय हुने बताएका थिए।
सम्मेलनबाट फर्किएपछि मन्त्री खनालले पत्रकारहरूसँग उच्चस्तरीय राजनीतिक भ्रमणबारे प्रस्ताव आएको तर मिति तय नभएको जानकारी दिएका थिए। उनका अनुसार नयाँ सरकारले आफ्ना प्राथमिकता तय गरेपछि मात्रै भ्रमण प्रक्रिया अघि बढ्नेछ।
हाल नेपाल र भारत दुवै पक्षबाट तयारी भइरहे पनि भ्रमणको निश्चित मिति तय हुन अझै समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकार अहिले सुकुम्बासी व्यवस्थापन, बजेट तयारी लगायतका आन्तरिक काममा केन्द्रित छ। जेठ १५ गते बजेट ल्याउने तयारी भइरहेकाले असारअघि विदेश भ्रमण सम्भावना कम रहेको बताइएको छ।
प्रधानमन्त्रीका एक सहयोगीले भने, “सरकार गठन भएको पहिलो तीन महिनामा परिणाम देखाउने लक्ष्य छ। त्यसैले तत्काल विदेश भ्रमण प्राथमिकतामा परेको छैन। अत्यावश्यक अवस्था बाहेक असारअघि भ्रमण हुने सम्भावना निकै कम छ।”
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल