Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यता अभिलेखबाट आउट हुने भएका छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउन लागिएको हो ।
स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्छ एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने,उनीहरूलाई स्पष्टीकरण सोधिरहनु पर्दैन । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसरी स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसाल रुपन्देही र प्रभु साह रौतहट रहेका छन् भने केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाह रौतहट,गंगा चौधरी सत्गौवा, दाङ तथा बदमी क्वारा बुढा डोल्पा रहेका छन् ।
नेता घनश्याम भुसाललाई पार्टी उम्मेदवार नबनाएपछि रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यो क्षेत्रमा एमालेले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । उम्मेदवार सिफारिसका क्रममा भुसाल रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ र ३ बाट सिफारिस भएका थिए । ३ मा एमालेले राप्रपाका दीपक बोहोरालाई सघाउने निर्णय गरेको थियो भने १ मा विश्वकर्मालाई अगाडि ल्याएपछि एमालेभित्र वैचारिक नेताका रूपमा रहेका र अघिल्लो पटक प्रतिनिधि सभामा निर्वाचित भएका भुसाललाई एमालेले पाखा लगाउने प्रयत्नअनुसार टिकट दिनबाट वञ्चित गरेको थियो । एमालेको २०७८ साल मङ्सिरमा सम्पन्न १० औँ महाधिवेशनमा अध्यक्ष ओलीको निर्देशनविपरित उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भुसाल वाम एकताको पक्षमा वकालत गर्दै आएका थिए । अध्यक्ष ओलीको संसद् विघटन गर्ने कदमको समेत विरोध गरेका भुसाललाई ओलीले इगो साँधेर नै टिकट नदिएको एमाले वृत्तमा चर्चा चलेको छ ।
एमाले पार्टी सदस्यताको अभिलेखबाट हट्ने अर्का नेता हुन् पूर्वमाओवादी पृष्ठभूमिका स्थायी कमिटी सदस्य प्रभु साह । साहलाई भने एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट दिए पनि उनले जसपासँगको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । साह एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनकालमा एमालेमै रहेका थिए । रौतहटमा राम्रो पकड राख्ने साहले मधेसका ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएको दावी गरेका छन् । त्यस्तै एमाले केन्द्रीय सदस्य गंगा चौधरी पनि एमालेबाट आउट भएकी छन् । प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने चाहना राखेकी चौधरीको ठाउँमा एमालेले पोलिटव्युरो सदस्य शान्ता चौधरीलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र गंगाले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनी यसअघि समानुपातिक कोटमा सांसद भएकी थिइन् । राष्ट्रियताको सवालमा खरो उत्रन चाहने चौधरी एमसीसी लगायतका विषयमा एमाले मौन रहँदा उनले विरोध गरेकी थिइन् ।
त्यस्तै एमालेका अर्का नेता कुन्दन कुशवाहलाई पनि एमालेले रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट टिकट दिएको थियो । तर कुसवाहले प्रभुकै टिमबाट एमालेको टिकट फालेर स्वतन्त्र उम्मेदवारी दिएपछि उनी पनि एमालेको अभिलेखबाट हटेका छन् । माओवादी पृष्ठभूमिका कुसवाह पनि नेकपा विभाजनकालमा एमालेसँगै रहेका थिए । त्यस्तै एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि आफ्नो अभिलेखबाट हटाएको छ । उनले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल