Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशभर दुईवटा गठबन्धन चुनावमा गएका बेला काठमाडौं १० मा भने गठबन्धन भत्किएको छ ।
सत्तारुढ गठबन्धनमा माओवादीले मागेको प्रदेश नपाएपछि संघ र प्रदेशमा आफ्नो पार्टीको उमेदवारलाई माओवादीले टिकट दिएको थियो ।
काठमाडौं १० क माओवादीले मागे पनि कांग्रेसले विगतमा जितेको क्षेत्र नछोड्ने अडान लिएपछि माअोवादीका तर्फबाट उमेदवारहरुको सेटले नै उमेदवारी दिएको थियो ।
अन्तिमसम्म कांग्रेसले उमेदवारी फिर्ता लिन तयार नभएपछि माओवादी र कांग्रेस दुवैका उमेदवार कायम भएका छन् ।
नेपाली कांग्रेसका तर्फका २०७० सालदेखि चुनाव जित्दै आएका राजेन्द्र केसीले उमेदवारी दोहोर्याएका छन् ।
माओवादी केन्द्रले समानुपातिक तर्फकी सांसद अंजना विशंखेले उमेदवारी दिएकी छन् ।
प्रमुख प्रतिपक्षी एमालेले भने नयाँ अनुहार अघि सारेको छ । एमालेका तर्फबाट हिमेश केसीले उमेदवारी दिएका छन् ।
त्यसैले काठमाडौं क्षेत्र नम्बर–१० यसपटक हुने त्रिपक्षीय प्रतिस्पर्धा रोचक हुने छ । यो क्षेत्रमा ०७४को निर्वाचनमा वाम गठबन्धनका कारण कांग्रेस–एमालेका संयुक्त उमेदवार हुँदा पनि कांग्रेसका केसी निर्वाचित भएका थिए ।
गत स्थानीय चुनावमा पनि कांग्रेसले नै काठमाडौं–१० का स्थानीय तहमा बढी मत पाएको थियो । स्थानीय तह निर्वाचनमा काठमाडौं–१० मा कांग्रेसले २४ हजार ७७५ मत पाएको थियो ।
नेकपा एमालेले १८ हजार ८३८ मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले चार हजार ९४२ मत पाएको थियो ।
राप्रपाले २ हजार ४९६ मत पाएको थियो भने नेकपा एकीकृत समाजवादीले १ हजार ३४२ मत पाएको थियो । यो क्षेत्रमा माओवादी केन्द्रले भने गठबन्धनबाट प्रदेश क मा मात्र आफ्नो उमेदवारी दावी गरेको थियो ।
तर, कांग्रेसले ०७४ मा जितेको क्षेत्र छोडन तयार नभएपछि माओवादीकी अंजना विशंखेले संघमा र प्रदेश क मा दिलिप महर्जन र प्रदेश ख मा गणेशबहादुर कुँवरले उमेदवारी दर्ता गराएका थिए ।
माओवादीको टिकटबिनै विशंखेले उमेदवारी दर्ता गरेपछि उनले विद्रोह गरेको चर्चा पनि भएको थियो । त्यसबेला विशंखेले अध्यक्ष प्रचण्डले भनेर नै आफूले उमेदवारी दर्ता गराएको बताएकी थिइन् ।
संघमा पनि उमेदवारी दिँदा कांग्रेस गल्ने र प्रदेशमा आफूलाई छोड्न तयार हुने प्रचण्डको अनुमान फेल खाएपछि माओवादी केन्द्र कांग्रेससँगै चुनाव लड्नुपर्ने अवस्थामा पुगेको छ । प्रदेश क मा कांग्रेस, माओवादी केन्द्र र एमालेबीच त्रिपक्षी प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रदेशतर्फ भने कांग्रेसले प्रदेश क मा पुकार श्रेष्ठलाई उमेदवारी दिएको छ भने प्रदेश ख मा नेकपा एकीकृत समाजवादीलाई छोडिदिएको छ । त्यहाँ एकीकृत समाजवादी, माओवादी केन्द्र र एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुईपटक चुनाव जितिसकेका कांग्रेस उमेदवार राजेन्द्र केसी माओवादी छुट्टै चुनाव लड्दा कांग्रेसलाई कुनै असर नपर्ने बताउँछन् ।
यहाँ माओवादीले रोजेको क्षेत्रमा ०७४मै हामीले जितेका थियौँ । त्यो क्षेत्र छोडिदिन उहाँहरुको आग्रह थियो, प्रतिनिधिसभामा कांग्रेस उमेदवार केसीले बाह्रखरीसँग भने, त्यहाँ हामीले छोड्ने अवस्था रहेन । अर्को क्षेत्रमा उहाँहरु जान तयार नभएपछि नेकपा एसले लिएको छ ।
उनले माओवादी गठबन्धनमा नहुँदा खास समस्या नहुने बताए ।
हामी हिजोको मतका आधारमा पनि र स्थानीय तहको मतका आधारमा पनि एक्लै जित्न सक्ने अवस्थामा छौँ । उहाँहरुले मैत्रीपूर्ण प्रतिस्पर्धा रोज्नु सकारात्मक कुरा हो, केसीले भने, एसले हामीलाई सहयोग गर्नेगरी प्रदेशसभा ख लिएको छ । हामी चुनाव जित्ने अवस्थामा छौँ ।
उनी कांग्रेस एक्लै लडे पनि चुनाव जित्ने अवस्था रहेको भन्दै नेकपा एस पनि जोडिएकाले थप सहज हुने बताए ।
माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य उमेदवार विशंखेले भने गठबन्धनले गरेको निर्णय राजन केसीले नमानेका कारण गठबन्धन नभएको बताइन् ।
गठबन्धनको निर्णय नमानेका कारण आफूले केसीसँगै प्रतिस्पर्धा गरेको उनको भनाई छ ।
गठबन्धनले संघमा कांग्रेस नै रहनेगरी प्रदेश क मा माओवादी र ख मा नेकपा एस हुने निर्णय गरेको हो । त्यो निर्णय राजन राजेन्द्र केसीले मान्नुभएन, विशंखेले बाह्रखरीसँग भनिन्, उहाँले पुकार श्रेष्ठ नभइ जित्न सक्दिन भनेर गठबन्धन तोड्नुभएको छ । त्यसैले उहाँलाई हराएर जित्नेगरी मैले उमेदवारी दिएकी हुँ ।
उनले काठमाडौं–१० ले नयाँ अनुहार खोजिरहेको भन्दै आफूले जित्ने र प्रतिस्पर्धा पनि आफू र केसीबीच नै हुने दाबी गरिन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल