Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन प्रक्रिया सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन डीपीआर प्रक्रिया सुरु गरेको छ । महानगर क्षेत्रभित्र हुने सवारी जामलाई मध्यनजर गर्दै ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माणका लागि डीपीआर प्रक्रिया अघि बढाएको हो ।
महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले वृहत् ट्रिपल अन्डरग्राउन्ड पार्किङका लागि डीपीआर प्रक्रिया सुरु गरिएको बताए । लम्सालका अनुसार पब्लिक प्राइभेट पाट्नर्सिप प्रोग्रामअन्तर्गत काम अघि बढेको छ ।

महानगरले सरोकारवाला निकायसँग समन्वय गरेर खुलामञ्चमा वृहत् अन्डरग्राउन्ड पार्किङ बनाउने तयारी गरेको जनाएको छ । सिटी प्लानिङ कमिसनमार्फत काम अघि बढेको छ । खुलामञ्चमा ५ हजार गाडी अट्ने अन्डरग्राउन्ड पार्किङ बनाउन लागिएको हो, लम्सालले भने ।
गत कार्तिक २९ गते मंगलबार महानगरका मेयर बालेन्द्र शाह बालेनको अध्यक्षतामा राष्ट्रिय सभागृहमा बसेको १०औँ कार्यपालिका बैठकले अन्डरग्राउन्ड पार्किङ बनाउने प्रस्ताव पारित गरेको थियो ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा रहेको खुलामञ्चमा नगर विकास कोषको प्राविधिक सहयोगमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ बनाइनेछ । साथै खुलामञ्चमै पानी पुनर्भरण पीटको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने पनि महानगरको तयारी छ ।
महानगरले लामो समयदेखि अन्डरग्राउन्ड पार्किङका लागि बनाइएका व्यापारिक कम्प्लेक्समा डोजर चलाउँदै आएको छ । पार्किङका लागि बनाइएका बेसमेन्ट पनि व्यापारिक प्रयोजनमै ल्याएपछि डोजर चलाउन थालेको हो ।

हाल महानगरले बागबजार लगायतका सडक फुटपाथमा पार्किङ निषेध गरेको छ । कतै सडक फुटपाथको एक लाइन मात्रै पार्किङ गर्न मिल्ने नियम ल्याएको छ । सडक फुटपाथमा पार्किङ निषेध गर्ने महानगरको कदमविरुद्ध बागबजारका व्यापारी आन्दोलित छन् ।

महानगरले बिनाविकल्प सडक पार्किङ हटाइएको भन्दै गुनासो गरेका छन् ।

राजनैतिक साक्षी खुलामञ्चलाई खुला रूपमै राख्नुपर्ने भन्दै महानगरको कदमविरुद्ध आवाज उठ्न थालेको छ । महानगरले खुलामञ्चलाई खुला छाडेर त्यसका अतिरिक्त अर्को विकल्प खोज्नुपर्ने भन्दै विरोध हुन थालेको हो ।

महानगरले गलत कदम चालेको अकुपाइ टुँडिखेल अभियानले जनाएको छ । प्रविधियुक्त पार्किङ भवनहरू अन्य ठाउँमा बनाउन जरुरी रहेको र खुलामञ्चको भू–बनावट बिगार्न नहुने सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले बताए ।

खुलामञ्चको बारेमा महानगर संवेदनशील हुन आग्रह गर्दछु । हतारमा अघि नबढौँ । जमिनमुनी या जमिनमाथी संरचना निर्माण गर्ने सोच गलत छ । पार्किङको विकल्प अन्य ठाउँ रोजौँ, मर्म बुझौँ, उनले भने ।
टुँडिखेलको अभिन्न अंगको रूपमा रहेको खुलामञ्चलाई संरक्षण र सम्र्वद्धन गर्नुपर्ने भन्दै अभियानका संयोजक विजय श्रेष्ठले वडा नम्बर २८ लाई पत्राचार गरेका छन् ।
भूमिगत जल भण्डारको पुनर्भरणको श्रोत, महाङकाल, दुई माजु, गुरु मापा जस्ता कैयौँ मूर्त अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल, ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षीको रूपमा खुलामञ्च रहेको पत्रमा उल्लेख छ ।

पूर्वाधार सल्लाहकार लम्साल महानगरले सबैलाई कन्भिन्स गरेर काम अघि बढाइने बताए ।
पछिल्लो समय खुलामञ्च अतिक्रमणमा परी मासिँदै गएको पनि अभियानले जनाएको छ ।
सन् १९६७ मा ५.२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको वडालाई गरिएको पत्रमा उल्लेख छ ।
पटक–पटक अतिक्रमणमा परेको खुलामञ्चलाई जोगाउन २०७६ साल कार्तिक २३ गतेदेखि अकुपाइ टुँडिखेल नामक अभियान सुरु गरिएको थियो । २०७२ सालको भूकम्पयता बसपार्कमा परिणत भएको खुलामञ्चबाट एक वर्षपहिले मात्रै बसपार्क हटाएर खुला राखिएको थियो ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल