Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको छ । बिहीबार बुझाएको अधुरो प्रतिवेदनमाथि आज गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्दैछन् ।
गठबन्धनका शीर्ष नेताहरुको आज बस्ने बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने बताउँदै आएका छन् । गठबन्धनको मुख्य घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा पत्रकारहरुसँग भने, आज बस्ने गठबन्धनको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउँछ ।
गठबन्धनमा कुरा नमिल्नुमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्य कारक मानिएको छ । कांग्रेस र माओवादी केन्द्र आफ्नो अडानबाट पछाडि हटे पनि जसपा र नेकपा एकीकृत समाजवादी आफ्नै अडानमा रहेको कारण विवाद मिलाउन समस्या भएको कार्यदलका एक सदस्यले बताए ।
प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । लगभग शीर्ष नेता भएको सबै क्षेत्रमा सहमति भइसकेको छ । अन्य क्षेत्रहरुमा दलहरु आ–आफ्नो दाबीबाट पछाडि हटेका छैनन् । ७५ वटा सिटमा गठबन्धनभित्र दुई वा सोभन्दा बढी दलको दाबी देखिएको छ । त्यसमध्ये सबैभन्दा समस्या प्रदेश १ र मधेस प्रदेशमा देखिएको छ । गठबन्धनको बैठक बस्नुअघि जसपाको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । शीर्ष नेताहरुको सो बैठकमा गठबन्धनमा कतिसम्म लचिलो हुने या नहुने विषयमा छलफल भइरहेको छ ।
जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले पार्टीको अनौपचारिक बैठक पार्टी कार्यालयमा चलिरहेको बताए । गठबन्धनमा हुने सिट बाँडफाँटमा जसपाको ठाउँ कहाँ रहने भन्ने विषयमा सामान्य छलफल भइरहेको उनले बताए । गठबन्धनभित्र जसपा सहमति नजिक रहेको र गठबन्धन छाड्ने अवस्था नरहेको उनले बताए । धेरै कुरामा सहमति भइसकेको छ, केही ठाउँहरुमा कुरा मिलेको छैन’ उनले भने । शीर्ष नेताहरुले त्यसलाई पनि टुङ्गो लगाउने उनको भनाइ छ ।
उनले भने, ७५–८० वटा सिटमा कुरा मिलेको छैन, यो सामान्य कुरा हो, शीर्ष तहको बैठकमा कुरा मिल्छ । सानोसानो विषयमा कुरा अड्किएको छ, आज बस्ने कार्यदलसहितको गठबन्धनको बैठकमा यी विषयमा कुरा मिल्छ ।’ आज बस्ने गठबन्धनको बैठकमा कार्यदलले दिएको प्रतिवेदनलाई टेकेर सिट बाँडफाँटको टुङ्गो लगाइनेछ । कुरा नमिलेको क्षेत्रमा पनि कार्यदलले विभिन्न आधार सुझाएको छ । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव र २०७९ को स्थानीय चुनावलाई आधार मानेर निष्कर्ष निकाल्न कार्यदलले सुझाव दिएको छ । कतिपय क्षेत्रमा पार्टीको संगठन र नेताको पकडलाई पनि आधार मानिएको छ ।
कतिपय ठाउँमा कुनै पार्टीको संगठन कमजोर छ तर ती दलका नेताहरुले आफ्नो छविका कारणले पनि चुनाव जित्दै आएका छन् । कतिपय ठाउँमा नेता नभए पनि संगठनकै बलमा चुनाव जित्दै आएका छन् । यी सबै कुरालाई आधार मानेर प्रतिवेदन तयार पारिएको जसपाका नेता यादवले बताए । उनले भने, ‘कार्यदल सहमति नजिक पुगेर प्रतिवेदन बनाएको छ, शीर्ष नेतालाई निर्णयमा पुग्न त्यसले सजिलो हुन्छ ।’
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल