Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो ।
तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई जानकारी दिए । ‘दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिलेसम्म आधिकारिक निर्णय भइसकेको छैन । तर, आवश्यक समयलाई ख्याल गर्दै उचित समयमा नै अग्रिम टिकट बुकिङ खुल्ला गर्छौँ,’ पनेरुले भने । सम्बन्धित यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी लगायतका सरोकारवाला निकाय तथा व्यक्तित्वहरूसँग अहिले विभागको छलफल चलिरहेको र केही दिन भित्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए ।
यता यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने भदौ १५ गते नै आफूहरूले यातायात व्यवस्था विभागका डीजी महानिर्देशक ट्राफिक प्रहरी प्रमुख लगायतका सरोकारवाला निकायहरूसँग बसेर अग्रिम टिकट बुकिङदेखि आवश्यक सुरक्षाको प्रबन्धसँगै सडक बाटोघाटोको मर्मतको सुझावसमेत दिइसकेको बताउँछ ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातोपाटीसँग भने, ‘पहिलो प्राथमिकता सडक पूर्वाधारको मर्मत तथा सडक सुरक्षाको हो । बर्खाले देशका कुन कुन भागमा कहाँ कहाँ पहिरो गएको छ, सडक बाटाहरू बिग्रिएका छन्, त्यसमा सरकारले ध्यान दिनुपर्छ र तत्काल मर्मत गर्नुपर्छ । नत्र, चाडपर्वका बेला भिड लाग्ने सडकमा सडक सुरक्षाको जोखिम रहन्छ’ सिटौलाले भने, ‘एकैपटक दसैँकै मुखमा यात्रुहरूको चाप पर्ने र भिडभाडसँगै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले बेलैमा सोच्नुपर्छ ।’
सिटौलाका अनुसार दसैँतिहारको यातायात सेवालाई व्यवस्थित गर्नकै लागि असोज १ गते देखिनै उपत्यका छाड्न चाहने यात्रुहरूलाई सरकारले सहजीकरण गर्ने, कलेज तथा विद्यालयहरूको पठनपाठनलाई केही समय अघि नै बन्द गरी विद्यार्थीहरूलाई घटस्थापना अघि नै घर जाने वातावरण मिलाउनुपर्छ । र अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक ९सरकारी० कार्यालयहरूलाई समेत घटस्थापना दिनदेखि नै बन्द गर्नुपर्ने उनको सुझाव छ । यसअघिको छलफलमा आफूहरुले सोही सुझाव दिएको सिटौलाले रातोपाटीसँग बताए ।
तर, यस पटकको अग्रिम टिकट बुकिङ भने असोज पहिलो साताभित्रै खुल्ने उनले जानकारी दिए ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल