Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था र संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ । प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो । देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रुपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातर्फ धकेल्न हुन्न भन्ने आम भावना रहेको छ ।
आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दोरहेनछ । त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन आवश्यक छ ।
नेपाल निरन्तर देशी विदेशीहरूको क्रिडाभूमि पनि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर समुन्नत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान् बनाउनु परेको छ । आफ्नै देशमा मौका नभएर हो कि नखोजेर हो, रोजगार र कमाउन भनेर दिनहूँ हजारौँको सङ्ख्यामा नेपाली युवायुवती विदेशिइरहेका छन् ।
एकातिर होनहार नागरिकहरू बाहिर गएर नेपाली भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीहरूलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ । विश्वका दुई ठुला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ ।
डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको परिहार्यतासिद्ध गरेको छ । हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिक,धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित बन्दा राष्ट्रहित र सुरक्षा सङ्कटग्रस्त बन्दै गएको छ ।
व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथ भ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौँ–हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्नु हुँदैन । राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्यव्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् जय नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल