Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन भारतसँग उच्च तहमा कूटनीतिक पहल भइरहेको बताएका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योग प्रभावित बनेपछि सरकार समस्या समाधानका लागि सक्रिय भएको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको जटिलताप्रति सरकार गम्भीर रहेको उल्लेख गरे। उनले भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र समस्याको छिट्टै समाधान निस्कने अपेक्षा गरिएको बताए।

“चिया निर्यातमा देखिएका अवरोध समाधान गर्न भारतीय अधिकारीहरूसँग छलफल अगाडि बढाइएको छ,” मन्त्री खनालले भने, “कूटनीतिक तहबाट आवश्यक पहल भइरहेको छ र भारतीय पक्षबाट प्राप्त संकेतहरू पनि सकारात्मक छन्। निकट भविष्यमा यस विषयको समाधान निस्किने विश्वास लिएका छौँ।”

भेटका क्रममा महासंघले भारतीय चिया बोर्डको पछिल्लो व्यवस्थाले नेपाली चिया निर्यातकर्ताहरूलाई गम्भीर असर पारेको भन्दै सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको धारणा राखेको थियो। प्रतिनिधिमण्डलले निर्यात प्रक्रिया सहज बनाउन र व्यापारमा देखिएका प्रशासनिक अवरोध हटाउन पहल गर्न आग्रह गरेको थियो।

महासंघ अध्यक्ष अन्जन श्रेष्ठले चिया उद्योग नेपालको प्रमुख कृषि–आधारित निर्यात क्षेत्रमध्ये एक रहेको उल्लेख गर्दै यस क्षेत्रमा वार्षिक १२ अर्बदेखि १४ अर्ब रुपैयाँसम्मको कारोबार हुने बताए। उनले निर्यात अवरोध लामो समय कायम रहँदा उद्योग, किसान, श्रमिक तथा यस क्षेत्रमा आश्रित लाखौँ व्यक्तिको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने चेतावनी दिए।

श्रेष्ठले चिया क्षेत्रलाई संकटबाट जोगाउन सरकार र कूटनीतिक संयन्त्रले तत्काल प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता कायम राख्न व्यापार सहजीकरण अपरिहार्य रहेको बताए।

परराष्ट्रमन्त्री खनालले चिया मात्र नभई नेपालबाट भारततर्फ निर्यात हुने अन्य वस्तुहरूमा समय–समयमा देखिने यस्ता व्यापारिक समस्याको दीर्घकालीन समाधान खोज्न पनि सरकार प्रयासरत रहेको जानकारी दिए। उनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सहज, पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको बताए।

हाल भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातकर्ताहरूले बजार पहुँच र निर्यात प्रक्रियामा कठिनाइ भोगिरहेका छन्। उद्योगी व्यवसायीहरूले समस्या समाधानमा ढिलाइ भए चिया क्षेत्रको उत्पादन, निर्यात र रोजगारीमा नकारात्मक प्रभाव पर्न सक्ने बताएका छन्।