Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरेपछि त्यसको वैध स्रोत र करसम्बन्धी विषयमा विभिन्न प्रश्न उठेकाले कांग्रेसले ती सम्पत्तिको स्रोतबारे स्पष्ट र कानुनी जवाफ दिन आग्रह गरेको हो।

वैशाख २ र ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी वक्तव्यमा पार्टीले यस्तो धारणा सार्वजनिक गरेको हो।

प्रवक्ता देवराज चालिसेद्वारा जारी वक्तव्यमा भनिएको छ कि सार्वजनिक पदमा पुगेपछि सम्पत्ति सार्वजनिक गर्नु कानुनी दायित्व भए पनि त्यसअघिको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नहरूको स्पष्ट र कानुनी उत्तर दिनु सम्बन्धित व्यक्तिको नैतिक जिम्मेवारी हो।

यससँगै कांग्रेसले २०४८ सालदेखि सार्वजनिक पदमा रहेका उच्च तहका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ। साथै, अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न र २०४६ देखि २०८२ सालसम्म भएका भ्रष्टाचारसम्बन्धी घटनाहरूको अनुसन्धान गर्न पनि जोड दिएको छ।