Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडाैं । पचास दिन लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत रूपमा चयन भएका छन्। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो।
कांग्रेसमा २०६४ सालपछि पहिलो पटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएको हो। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा खुम्चिएर संसद्को दोस्रो ठूलो दल बनेको कांग्रेसभित्र दलको नेता चयनमा भएको ढिलाइप्रति पार्टीभित्र र बाहिर प्रश्न उठिरहेका थिए।
दलको नेताका लागि आङदेम्बेसहित अर्जुननरसिंह केसी, मोहन आचार्य, बासना थापा र निस्कल राईलगायतको दाबी थियो। सुरुमा सहमति नजुट्दा केसीलाई अघि सार्ने प्रयास भए पनि सहमति बन्न नसकेपछि प्रक्रिया निर्वाचनतर्फ गएको थियो।
पछि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित वार्ता समितिले आकांक्षीहरूसँग छलफल गर्दै सहमति जुटाएको थियो। अन्ततः आङदेम्बेको नाममा सहमति बनेपछि केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको र संसदीय दलको बैठकले औपचारिक निर्णय गरेको हो।
पार्टीभित्र युवा, महिला र दुर्गम क्षेत्रबाट प्रतिनिधित्व हुने विकल्पहरू पनि छलफलमा आएका थिए। बासना थापालाई अघि सार्ने प्रस्तावसमेत आएको थियो, तर अन्ततः आङदेम्बे नै सर्वसम्मत बने।
पाँचथरका आङदेम्बे लामो समयदेखि विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्म सक्रिय रहँदै आएका नेता हुन्। नेविसंघ, तरुण दल हुँदै संविधानसभा सदस्य र पार्टीका विभिन्न जिम्मेवारी सम्हालिसकेका उनी हाल प्रतिनिधिसभा सदस्य हुन्।
यससँगै कांग्रेसले लामो रस्साकस्सीपछि संसदीय दलको नेतृत्व विवाद टुंग्याएको छ।
२०८३ बैशाख १५
ताजा नेपाल
२०८३ बैशाख १५
ताजा नेपाल
२०८३ बैशाख १५
ताजा नेपाल