Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७६ रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ प्रतिकिलो १२२ रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०।३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य हो । कालीमाटी तरकारी बजारले उपत्यकाको करिब ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत बल्खु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकीलगायत बजारले माग पूर्ति गर्छन् । यी बजारबाट खुद्रामा आइपुग्दा मूल्यमा फरक पर्छ । त्यसमाथि उपभोक्ता मूल्य मनलाग्दी निर्धारण भएको हुने गरेको छ । दसैंअघि प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बिक्री भएको थियो । दसैंलगत्तै भाउ दिनदिनै बढेको छ, समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, मूल्य बढ्नुको एक मात्र कारण भारतसँगको निर्भरता हो । भारतबाहेक विकल्प नहुँदा मूल्य अकासिएको छ । कालीमाटी तरकारी बजारमा भित्रिने प्याजमध्ये ९९ प्रतिशत भारतीय हो । केही व्यापारीले थोरै मात्रामा चीनबांट ल्याए पनि स्वादका कारण बिक्री हुँदैन । नेपाली उपभोक्ताले चिनियाँ प्याज त्यति रुचाउँदैनन् । स्वदेशी उत्पादनले धान्दैन, त्यसैले भारतकै भर पर्नुपर्छ । उत्पादन कम भएको बहानामा भारतले पनि अनेक नियम लगाइदिन्छ । पछिल्लो समय माग धान्न गाह्रो भएको भन्दै उसले निर्यातमा कडाइ गरेको छ, श्रेष्ठले भने, त्यसको प्रत्यक्ष असर यहाँ परेको छ । सामान्य दिनमा भारतबाट दैनिक करिब ८० टन भित्रिन्छ । पछिल्लो समय प्रतिकिलो ४० देखि ५० टन हाराहारीमा भित्रिएको छ । भारतले निर्यातमा गरेको कडाइ मात्र होइन, भन्सार मूल्यांकन पनि बजारमा अभाव र मूल्य बढ्नुको अर्को कारण रहेको व्यवसायी बताउँछन् । भन्सार मूल्यांकन दरमा देखिएको समस्याले प्याज आयातमा केही कठिनाइ भएको व्यवसायीको भनाइ छ । पछिल्लो समय भारतीय बजारमा मूल्य बढेको छ । गत आइतबारदेखि लागू हुने गरी भारतले प्याज निर्यात गर्दा प्रतिकिलो भारु ६७ तोकेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । तर यहाँ भन्सार मूल्यांकन दर ४५ रुपैयाँ छ । स्थानीय मागलाई दृष्टिगत गरी भारतले ५ लाख टन प्याज किनेर मौज्दात राखेको छ । थप ५ लाख टन खरिद गरेर मौज्दात राख्न आह्वान गरेको छ । त्यही कारणले पनि भारतमा मूल्य बढेको उनको भनाइ छ । प्याज कञ्चनपुरदेखि झापासम्म उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ती क्षेत्रमा करिब तीन लाख टन उत्पादन हुन्छ । तर स्वदेशी उत्पादनले स्वदेशकै माग तीन महिना पनि धान्दैन । यसअघि सरकारले आर्थिक वर्ष ०८०–८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि भ्याट खारेजी माग गर्दै केही व्यापारीले प्याज आयात गर्न इन्कार गरेका थिए । त्यसको फाइदा उठाउँदै बजारमा कालोबजारी सुरु भएको थियो । ०८० भदौ २ मै पनि भारतको वित्त मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको छ । भारतले निर्यात कर लगाउने निर्णयले नेपाली बजारमा प्रत्यक्ष असर परेको थियो । लगत्तै खुद्रा मूल्य किलोकै ९० देखि एक सय रुपैयाँसम्ममा बिक्री भएको थियो । आयात नै नभएको प्याजमा पनि व्यवसायीले मूल्य बढाएका थिए । सरकारले हस्तक्षेप गरेर केही व्यापारीलाई कारबाही गरे पनि मूल्य केही कम भएको थियो । पछिल्लो समय फेरि मूल्य बढ्न थालेको हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल