Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजेरमा सैन्य ‘कु’

मुलुकको बिग्रँदो सुरक्षा अवस्था, खराब सामाजिक, आर्थिक स्थितिका कारण सत्ता कब्जा गर्नुपरेको निजेरको सेनाको दाबी

काठमाडौँ — पश्चिम अफ्रिकास्थित भूपरिवेष्टित मुलुक निजेर यतिबेला अशान्त छ । गत जुलाई २६ मा सेनाका जनरल अब्दुर्रहमान चियानीले कु गरेर सत्ताकब्जा गरेपछि राजनीतिक अस्थिरता फैलिएको हो । चुनाव जितेर राष्ट्रपति बनेका मोहम्मद बाजौमलाई सेनाले कैद गरेको छ भने चियानीले आफूलाई सरकार प्रमुख घोषणा गरेका छन् ।

पश्चिम अफ्रिकाका बुर्किना फासो, गिनी, माली र चाडपछि निजेरमा पनि सैन्य शासन लागू भएको हो । यी सबै देशहरू कुनै बेला फ्रान्सको उपनिवेश थिए भने पछिल्लो समयसम्म यहाँ उसैको दबदबा थियो । सेनाले सत्ताकब्जा गर्न थालेपछि भने यी देशहरूमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिकाको पकड कमजोर बन्दै गएको छ भने रुसको प्रभाव बढिरहेको छ । विशेषगरी रुसको निजी सैन्य समूह वाग्नरले अफ्रिकामा आफ्नो प्रभाव बढाइरहेको छ ।

निजेर सबैभन्दा उच्च गरिबी रहेको सबसहारा क्षेत्रको एक मुलुक हो । यसको ८० प्रतिशत भूभाग सहारा मरुभूमिमा पर्छ । निजेरको जनसंख्या २ करोड ७३ लाख छ । संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकांकअनुसार निजेरको ९० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ । यो अफ्रिकी मुलुक आर्थिक र सामाजिक पूर्वाधारमा निकै पछाडि छ । भौगोलिक क्षेत्रफलका दृष्टिले विश्वकै २१ औं ठूलो राष्ट्र निजेरको आर्थिक स्थिति अन्य थुप्रै अफ्रिकी मुलुकको जस्तै कमजोर छ । बहुसंख्यक जनता इस्लाम धर्मावलम्बी छन् । छिमेकमा अल्जेरिया, लिबिया, चाड, नाइजेरिया, बेनिन, बुर्किना फासो, माली देश छन् । लामो समय फ्रान्सको उपनिवेश रहेको यो मुलुक सन् १९६० मा स्वतन्त्र भएको थियो । त्यसयता पटक–पटक कु को सामना गरेको निजेरमा स्वतन्त्रतापछि सन् २०२१ मा पहिलो लोकतान्त्रिक तथा शान्तिपूर्ण चुनावबाट बाजौम राष्ट्रपति बनेका थिए ।

निजेर अफ्रिकाको साहेल क्षेत्रमा पर्छ । साहेलको भूभाग आन्ध्र महासागरदेखि लालसागरसम्म पर्छ । यही क्षेत्रमा इस्लामसँग सम्बन्धित जिहादी समूह पनि सक्रिय छ । निजेरका छिमेकी देश माली र बुर्किना फासोमा पहिलेदेखि नै सैन्य शासन छ । कु अघिसम्म आफ्ना छिमेकी देशभन्दा तुलनात्मक रूपमा निजेरमा शान्तिपूर्ण माहोल थियो । लोकतान्त्रिक माध्यमबाट चुनाव भई सरकार पनि गठन भएको थियो । सेनाले सत्ता लिएपछि भने विभिन्न विद्रोही समूहको आक्रमण निजेरमा बढ्न सक्ने पश्चिमा मुलुकको चिन्ता छ । निजेरमा रहेका फ्रान्स र अमेरिक सैन्य बलले यहाँको सेनालाई इस्लामी विद्रोहीविरुद्ध लडाइँमा सहयोग गर्दै आएका थिए ।

सैन्य सरकारको पक्षमा राजधानी नियामीमा आयोजित प्रदर्शन  ।

निजेर तथा आसपासका देशमा इस्लामिक समूहको आक्रमण बढ्दो छ । अन्य देशका सैन्य शासनले पनि असुरक्षाको कारण देखाउँदै सत्ताकब्जा गरेका थिए । अहिले निजेरमा पनि सेनाले त्यही कारणलाई आफ्नो हतियार बनाएको छ । जिहादी समूहको आक्रमण रोक्न पर्याप्त काम नगरेको आरोप उनीहरूले आफ्ना सहयोगी देश फ्रान्सलाई लगाएका छन् । देशको बिग्रँदो सुरक्षा अवस्था, खराब सामाजिक,आर्थिक स्थितिका कारण सत्ताकब्जा गर्नुपरेको निजेरको सेनाले दाबी गर्दै आएको छ ।

अर्कोतर्फ देशभर फ्रान्सविरोधी भावना बढ्दै जाँदा पनि सेनालाई कु गर्न बल मिलेको हो । फ्रान्सले आफ्नो देशका सबै संसाधनको दोहन गरेको निजेरका जनताको बुझाइ छ । ‘कु’पछि भएको प्रदर्शनमा त्यहाँ रहेको फ्रान्सेली दूतावासमा प्रदर्शनकारीले आक्रमण पनि गरेका थिए । बाजौम सत्तामा आएपछि उनको प्रशासनले फ्रान्सविरोधी प्रदर्शनलाई रोक लगाएको थियो । उनले मालीबाट निकालिएका फ्रान्सका सैन्य बललाई आफ्नो देशमा तैनाथ गर्न पनि स्वीकृति दिएका थिए, जसको विरोध नागरिकस्तरबाट हुँदै आएको थियो । निजेरमा एम ६२ मुभमेन्ट नामको संगठन छ । जसमा ट्रेड युनियन र नागरिक समूह आबद्ध छन् । यो समूहले महँगी, कुशासन, फ्रान्सेली सैनिकको उपस्थितिको विरुद्ध एकजुट हुन आह्वान गरेको थियो । यो सम्हूले कैयौं प्रदर्शन पनि गर्दै आएको थियो, जसलाई बाजौम सरकारले हिंस्रक तरिकाले दबाउँदै प्रतिबन्ध लगाएको थियो । बाजौमलाई राष्ट्रपति पदबाट हटाएपछि अहिले त्यही समूह सक्रिय भएको छ ।

निजेरमा पश्चिमा देश र अमेरिकी चासो रहनुमा मुख्य दुई कारण छन्, पहिलो त्यहाँको युरेनियम भण्डार र दोस्रो रुसको उपस्थिति । निजेर विश्वकै सातौं ठूलो युरेनियम उत्पादक हो । युरेनियम परमाणु ऊर्जा, बमका लागि आवश्यक पदार्थ हो । निजेरले विश्वबजारमा युरेनियम निर्यातको ५ प्रतिशत हिस्सा ओगट्छ । यहाँको धेरैजसो युरेनियम फ्रान्स निर्यात हुँदै आएको छ । फ्रान्समा विद्युत् उत्पादनका लागि पनि निजेरको युरेनियम प्रयोग हुने गरेको छ । यस्तै, युरोपेली संघका अन्य सदस्य राष्ट्रलाई पनि निजेरले युरेनियम बिक्री गर्दै आएको छ । निजेरबाट निर्यात हुने वस्तुमा सुनपछि दोस्रो स्थान युरेनियमले ओगटेको छ । आणविक हतियारका लागि आवश्यक पदार्थ युरेनियमको भण्डार रहेकाले पनि निजेरमा आफ्नो उपस्थिति कमजोर हुन नदिने रणनीतिमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिका छन् ।

अर्कोतर्फ पश्चिम अफ्रिकामा रुसको बढ्दो उपस्थिति पनि पश्चिमा मुलुक र अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको छ । निजेरको छिमेकी देश मालीमा पनि सैन्य सरकार आएपछि रुसको वाग्नर समूहलाई स्वागत गरिएको थियो भने फ्रान्सको सैनिकलाई फिर्ता पठाइएको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघका हजारौं शान्ति सैनिकले पनि माली छाडेका थिए । बुर्किना फासोमा पनि सैन्य शासक रुससँग नजिकिन प्रयासरत छ । यहाँ रहेका फ्रान्सेली सेनालाई पनि निकालिएको थियो ।

रुसको राष्ट्रपति कार्यालयले निजेरको संकटको शान्तिपूर्ण समाधानका लागि अपिल गरे पनि आफ्नो उपस्थिति बढाउन खोजेको विश्लेषकहरूको भनाइ छ । रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख यभगेनी प्रिगोजिनले निजेरमा ‘कु’ भएलगत्तै सैन्य सरकारलाई सहयोग गर्न आफू तयार रहेको अभिव्यक्ति दिएका थिए । फ्रान्सेली समाचार संस्था एपीले पनि निजेरको सेनाका अधिकारी सालिफु मुडीले वाग्नर समूहका एक अधिकारीसँग हालै मालीमा भेटेको र सहयोग मागेको दाबी गरेको छ । अफ्रिकाको क्षेत्रीय आर्थिक समूह इकोवासले निजेरमा अपदस्थ राष्ट्रपतिलाई पुनर्बहाली गर्न दिएको अल्टिमेटम र पश्चिमा देशहरूको सम्भावित प्रतिबन्धको जोखिमबीच निजेरका सैन्य अधिकारी वाग्नर समूहसँग नजिकिएका हुन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि वाग्नर समूहले निजेरको अस्थिरताको फाइदा उठाइरहेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकिनले निजेरको ‘कु’मा रुस र वाग्नर समूहको भूमिका नदेखिए पनि कु पछिको परिस्थितिमा फाइदा लिन खोजेको बताएका छन् । अमेरिकाका कार्यवाहक सहायक विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले निजेरका सैनिक अधिकारीहरूसँग वार्ता गरे पनि कुनै परिणाम भने निस्किएन । अमेरिकाले निजेरलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी उनले दिएकी छन् ।

पश्चिमी अफ्रिकी राष्ट्रहरूको संगठन ९इकोवास० ले केही दिनअघि निजेरमा राष्ट्रपतिलाई पुनर्बहाली गर्न एक साताको अल्टिमेटम दिएको थियो । आइतबार उक्त अवधि सकिसकेको छ । निजेरको सेनाले आफ्नो अल्टिमेटम नमानेपछि इकोवासले यसबारेमा छलफल गर्न बिहीबार बैठक डाकेको छ । इकोवासको अध्यक्षमा अहिले नाइजेरियाका राष्ट्रपति बोला टिनुबु छन् । तीन साताअघि मात्र अध्यक्ष भएका उनलाई अब छिमेकी देश निजेरको सत्ता संघर्ष ठूलो चुनौती बनेको छ । दुवै देशबीच १५ सय किलोमिटरको सीमा जोडिएको छ । त्यसैले निजेरमा सत्ता हेरफेरको असर नाइजेरियामा पनि पर्न सक्ने सम्भावना छ । दुवै देशको सुरक्षा पनि एकआपसमा जोडिएको छ । आतंकवादी इस्लामिक समूह बोको हरामले दुवै देशमा आक्रमण गर्दै आएको छ, जसको विरुद्ध नाइजेरिया, निजेर, चाड र क्यामरुनको संयुक्त सैन्य बलले लडाइँ गरिरहेको छ । यो सैन्य बलमा रणनीतिक र प्राविधिक साझेदारमा बेलायत, अमेरिका, फ्रान्स पनि सहभागी छन्, जसको दुइटा अड्डा निजेरमा छ ।

यद्यपि, इकोवासले पहिले केही देशमा गृहयुद्ध अन्त्य गर्न, पदबाट हटाएका राष्ट्रपतिलाई पुनर्बहाली गर्न र चुनावमा हार नमान्ने नेतालाई गलाउन पनि सेना पठाएको थियो । लाइबेरिया, सियरा लिओन, गिनीबिसाउ र गाम्बियाजस्ता देशमा इकोवासले यसअघि सेना पठाएको थियो । त्यसैले निजेरलाई पनि एक साताभित्र राष्ट्रपति बाजौमलाई पुनर्बहाली गर्न इकोवासले अल्टिमेटम दिएको थियो । तर, निजेरले उल्टै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने देशको रक्षा गर्न सक्षम रहेको प्रतिक्रिया दिएको छ । इकोवासले निजेरलाई सैन्य कारबाही गर्न सक्ने सम्भावना भने छ । तर, माली र बुर्किना फासोले भने निजेरलाई सहयोग गर्ने बचन दिएका छन् । त्यसैले निजेरमा सैन्य कारबाही गर्न इकोवासलाई कठिनाइ पर्ने देखिन्छ ।

यसबीच रुस अफ्रिकी देशमा आफ्नो उपस्थिति बढाउन भरमग्दुर प्रयत्न गरिरहेको छ । गत महिना रुसको सेन्ट पिटर्सवर्गमा आयोजित रुस–अफ्रिका दुईदिने सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनले खाद्यान्न सहायता घोषणा गरेर अफ्रिकी देशहरूलाई रिझाउने प्रयास गरेका थिए । युक्रेनसँगको खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण नगर्ने रुसको निर्णयले अफ्रिकी मुलुकहरूमा खाद्य संकट हुने चेतावनीबीच पुटिनले बदलामा रुसले नै खाद्यान्न पठाउने प्रतिबद्धता जनाएका थिए । सम्मेलनमा पुटिनले आगामी तीन–चार महिनाभित्र ६ अफ्रिकी देशमा निःशुल्क खाद्यान्न आपूर्ति गर्ने बताएका थिए । बुर्किना फासो, जिम्बावे, माली, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक र इरिट्रियामा सहयोग पठाउने उनले बताएका हुन् । यी प्रत्येक देशलाई २५ देखि ५० हजार टन खाद्यान्न दिने घोषणा पुटिनले गरेका छन् ।

फ्रान्सलगायत पश्चिमा मुलुक, अमेरिका, इकोवास र रुसको स्वार्थको टकरावका बीच निजेरको सैन्य सरकारको झुकाव कतातर्फ होला रु के उसले पश्चिमा देशहरूसँगको सम्बन्ध उस्तै राख्ला वा आफ्ना छिमेकी देशहरूजस्तै रुसको नजिक जाला रु यसले पश्चिम अफ्रिकाको भविष्यमा पनि ठूलो प्रभाव पार्नेछ । तर, बढ्दो राजनीतिक खिचातानी र अस्थिरताको असर भने तत्काल विपन्न अफ्रिकी नागरिकलाई पर्ने निश्चित छ । विश्वकै धेरै गरिबी रहेको क्षेत्रमा पर्ने पश्चिम अफ्रिकामा भोकमरीको चपेटामा करोडौं नागरिक छन् । लामो समयदेखिको भोकमरी र सशस्त्र समूहको सैन्य संघर्षजस्ता कारणले यहाँ हजारौं व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् । पछिल्लो राजनीतिक अस्थिरताले यो समस्या अझै विकराल बन्न सक्छ ।

शीतयुद्धको समयमा तत्कालीन सोभियत संघ र अमेरिकासहितका पश्चिमा राष्ट्रबीच प्रतिद्वन्द्विताको कारण एसिया र अफ्रिकी देशहरूमा फेरि आफ्नो समर्थक सरकार बनाउने होडबाजीको अवस्थामा पुग्न लागेको देखिन्छ ।

– एजेन्सीहरूको सहयोगमा


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल