Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वासिङ्टन डिसीमा गोली चल्दा आक्रमणकारीसहित दुई जनाको मृत्यु

वासिङ्टन डिसी । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार भएको गोलीकाण्डमा आक्रमणकारीसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

वासिङ्टन डिसी प्रहरीका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीअनुसार गोलीकाण्डमा दुई जनाको मृत्यु भएको हो। घटनामा घाइते भएका चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रहरी अधिकारीहरूले गोली चलाउने व्यक्तिले अन्तिममा आफैँलाई गोली हानेको प्रारम्भिक अनुमान गरेका छन्।

वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले प्रहरी घटनास्थलमा सूचना पाएको ३० सेकेन्डभित्रै पुगेको जानकारी दिए।

अमेरिकी राजधानीमा रहेको ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर टाढा गोली चलेको हो। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार आक्रमणकारीले सुरुमा एउटा फिटनेस सेन्टरभित्र एक व्यक्तिमाथि गोली प्रहार गरेका थिए।

त्यसपछि उनी जिमबाट बाहिर निस्किएर पार्किङ ग्यारेजमा पुगेका थिए। त्यहाँ पनि गोली चलाउँदा थप एक जना घाइते भएका थिए।

गोली चलेपछि घटनास्थल आसपास भागदौड मच्चिएको थियो। ज्यान जोगाउन मानिसहरू नजिकैका पसल तथा घरहरूमा लुकेका थिए। प्रहरीले तत्कालै उक्त क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो।

प्रहरीले स्थानीय समयअनुसार बिहीबार बिहान करिब ८ बजे गोली चलेको सूचना प्राप्त गरेको जनाएको छ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति गोरा पुरुष हुन्। प्रारम्भिक अनुसन्धानमा अपार्टमेन्ट भवनको घरधनी संघसँगको विवाद घटनाको कारण हुन सक्ने आशंका गरिएको छ।

यद्यपि, गोली चलाउनुको वास्तविक कारण भने प्रहरीले पुष्टि गरिसकेको छैन। घटनाको पृष्ठभूमि, सम्भावित विवाद र आक्रमणकारीको उद्देश्यबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।