Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटाइ खाएपछि नेताले काटे चेक

कुटाइपछि तीन चेक काटे , नेताले
रास्वपा प्रवेश गर्न लागेका नेकपा नेता सुरेश पन्थ रोकिए पूर्वकार्यकर्तासँगको लेनदेन विवादपछि

रुपन्देही । पुरानो आर्थिक लेनदेनको विवादमा सार्वजनिक स्थानमै चड्कन खाएका बर्दियाका नेकपा नेता सुरेश पन्थले प्रहरीकै रोहबरमा साढे १९ लाख रुपैयाँका तीनवटा चेक दिए पनि ती चेक बन्द खाताका रहेको पीडितले दाबी गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्ने तयारीमा रहेका पन्थलाई काठमाडौँमा भेटेपछि रकम फिर्ता माग्दै चड्कन हानेकी जानुका पौडेलले शुक्रबार बैंकमा बुझ्न जाँदा खाता बन्द रहेको जानकारी पाएको बताइन् ।

पन्थले प्रहरीको रोहबरमा ९ लाख ५६ हजार, ७ लाख ५० हजार र २ लाख ५० हजार रुपैयाँका चेक दिएको पौडेलको भनाइ छ । तर, चेकमा उल्लेख भएको खाताबाट रकम भुक्तानी हुन नसक्ने भएपछि आफू फेरि समस्यामा परेको उनले बताइन् ।

पौडेलका अनुसार पन्थले २०७९ को निर्वाचनका बेला आफूबाट रकम लिएका थिए । उनले वित्तीय संस्थाबाट ऋण निकालेर, मितेनी तथा आफन्तसँग खोजेर रकम उपलब्ध गराएको बताइन् । लामो समयसम्म रकम फिर्ता नपाएपछि पन्थ रास्वपा प्रवेश गर्न लागेको थाहा पाएर काठमाडौँस्थित पार्टी कार्यालय पुगेको उनको भनाइ छ ।

‘म २०७९ को निर्वाचनपछि रास्वपामा थिएँ । निर्वाचनका बेला फाइनान्सबाट निकालेर, मितिनी र आफन्तसँग खोजेर दिएको रकम वर्षौंसम्म फिर्ता भएन । प्रहरीकहाँ बसेर हात जोड्दै चेक दिएपछि छाडेकी थिएँ । मैले ब्याज मागेको होइन, आफ्नै रकम फिर्ता पाउनुपर्छ, पौडेलले भनिन् ।

आफू मात्रै नभई अरू पनि पन्थबाट पीडित रहेको दाबी गर्दै पौडेलले आफूले आवाज उठाएपछि थप पीडितहरू सम्पर्कमा आउन थालेको बताइन् ।

रकमको विवाद समाधान नभएसम्म पन्थलाई रास्वपा प्रवेश गर्न नदिन पार्टीका नेताहरूसँग आग्रह गरेको पनि उनले बताइन् ।

बर्दियामा तत्कालीन नेकपा माओवादी र हाल नेकपाबाट दुई पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पन्थ रास्वपा प्रवेशको तयारीका क्रममा बुधबार काठमाडौँमा सार्वजनिक स्थानमै कुटिएका थिए । बर्दियाबाट नेता तथा कार्यकर्तासहित रास्वपा प्रवेश गर्न बनस्थली पुगेका पन्थलाई घण्टीघर नजिकै महिलाहरूले घेरेर हातपात गरेका थिए ।

पन्थ निकटस्थहरूका अनुसार निर्वाचनका बेला लिएको रकम फिर्ता नगरेको भन्दै महिलाहरूले आक्रोश पोखेका थिए । बर्दियाको मधुवन नगरपालिका–७ निवासी जानुका पौडेलसहितका महिलाले पुरानो आर्थिक लेनदेनको विषयलाई लिएर उनीमाथि हातपात गरेका थिए ।

सार्वजनिक भएको भिडियोमा महिलाहरूले पन्थमाथि रकम लिएर फिर्ता नगरेको र पार्टी परिवर्तन गर्दै हिँडेको भन्दै आक्रोश व्यक्त गरेको देखिन्छ ।

उनीहरूले यसअघि पनि प्रहरीमा उजुरी दिएको तर सुनुवाइ नभएको दाबी गरेका थिए ।

हातपातपछि पन्थसँग रहेका व्यक्तिहरूले महिलाहरूलाई रोक्ने प्रयास गरेका थिए । केहीबेर तनाव भएपछि प्रहरीले हस्तक्षेप गरी पन्थलाई नियन्त्रणमा लिएको र महिलाहरूलाई शान्त पारेको थियो । त्यसपछि प्रहरीकै रोहबरमा आर्थिक लेनदेन मिलाउने प्रयास भएको र पन्थले चेक दिएको बताइएको छ ।

पन्थ पक्षले रकम लिएको र केही भुक्तानीसमेत गरेको स्वीकार गरे पनि सार्वजनिक स्थानमा हातपात गर्न नहुने तर्क गरेको छ । निर्वाचनका बेला भएको आर्थिक कारोबारको वास्तविक विवरण र रकम भुक्तानीबारे दुवै पक्षबीच विवाद कायम छ ।

पन्थ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रेशम चौधरीका बुवासँग झिनो मतान्तरले पराजित भएका थिए । पछिल्लो निर्वाचनमा भने रास्वपाका उम्मेदवार श्रीधर पोखरेलसँग फराकिलो मतान्तरले पराजित भएका थिए । पछिल्लो समय रास्वपाको पक्षमा वकालत गर्दै आएका पन्थ पार्टी परिवर्तन गरी रास्वपा प्रवेश गर्ने तयारीमा काठमाडौं पुगेका थिए ।